साफ फुटबल च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक


काठमाडौं : यू-१९ महिला साफ फुटबल च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै नेपाली टोली फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा शुक्रबार भएको खेलमा भुटानलाई ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।
नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ । नेपालको जितमा मेनुका आले मगरले २ गोल, कुसुम खतिवडा र रजनी थोकरले समान १/१ गोल गरे । नेपालले चार खेलबाट सात अंक जोडेको छ । नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अबको लिगको अन्तिम खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । खेल यही पुस ४ गते हुनेछ ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलअन्तरले पराजित गरेको थियो । यसअघि भूटानले पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग भूटान ६-० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
पाँचौं स्थानमा रहेको श्रीलंका लगातार तीन खेलमा हार बेहोर्दै अंकविहीन छ । श्रीलंका उपाधि होडबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी भएको उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।






















