सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवादले उग्र रुप लिदै


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवादले उग्र रुप लिन थालेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका – ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधाबाट बञ्चित हुनुपरेको गुनासो पोखेका छन् ।
चौतारा साँगाचोकगढी ११ का स्थानीय तस्बिर माझीले भने ‘हामीसँगै बसोवास गर्ने धेरै परिवारमा आमा काभ्रे छोराछोरी सिन्धुको बासिन्दा छौ ।’ जनकराज गिरी प्रधानपञ्च हुँदा २८ माघ २०३३ मा राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमि भनि नापी भएको भूभाग काभ्रेमा गोविन्द उप्रेती सांसद भएपछि आफूअनुकूल निर्णय गरि राज्यको कर्मचारीलाई नै दवाबमा पारेर मालपोत, श्रेस्ता र नापीको लगतसमेत कब्जामा लिई काभ्रेमा समेटि गैरकानुनी कार्य गरेकोप्रति अधिवक्ता रोजनराज गिरीले आक्रोश पोखेका छन् ।
काभ्रेको भुम्लो गाउँपालिकाले नदी किनारामा अरनिको राजमार्ग नै धरापमा पर्ने गरि सिन्धुको भूमिमा जबरजस्ती डोजर परिचालन गरेको प्रति बन्देउटार र डुम्रेमाझी गाउँको बासिन्दाले विरोध गरेका हुन् । बिहीबार अधिवक्ता रोशनराज गिरीको अगुवाइमा एक घन्टे चक्काजाम गरिएको थियो । उनीहरूले चक्का जामपछिको पत्रकार सम्मेलनमा सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको र फिर्ता नदिएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।






















