राजनीति

प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवार्ता : सर्वदलीय बैठक बोलाउने तयारी

जगत ठाडा मगर
२०७८ पुस २ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउवा र प्रचण्डबीचको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो ।

बालुवाटारमा भएको भेटवार्तामा एमालेले अवरोध गर्दै आएको सदन सुरु गर्ने तथा एमसीसी लगायत राष्ट्रिय मुद्दाहरुको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेताबिच छलफल भएको हो । सोही छलफल अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अर्को बैठक पुस ६ अघि नै आइतबार वा सोमबार बोलाउने तयारी गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

‘भेटका अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो’, देउवा–प्रचण्ड भेटपछि प्रचण्डको सचिवालयले भनेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ तेस्रो सातादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमालेले सभामुखको पक्षपातपूर्ण व्यवहारका कारण सदन अवरुद्ध गर्नुपरेको जनाउँदै आएको छ ।

यस्तै संसदमा एमसीसी पेश गर्ने सरकारको तयारी छ । तर सत्तारुढ गठबन्धनमै एमसीसी संसदमा पेश गर्ने साझा सहमति छैन । खासगरी माओवादी केन्द्रले एमसीसीबारे साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउँदै आएको छ । प्रधानमन्त्री देउवालाई एमसीसी अघि बढाउन दवाव आइरहेको छ ।

कमेन्टहरु