सिरहामा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु


सप्तरी । सिरहामा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको हो ।
मृत्यु हुनेमा सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर २ दिघिया गाउँका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेको प्रहरीले जनाएको छ । अर्का एक बच्चा घाइते भएका छन् ।
प्रदेश २-०१-००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार उनीहरू घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए ।
एकै परिवारका तीन जनाको मृत्यु भएपछि दिघिया गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष बिरेन्द्र गोइतले बताए । ‘अहिले उनको परिवारमा रुवाबासी चलेको छ । गाउँ शोकमा डुबेका छन्’ उनले भने । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि लहान अस्पतालमै राखिएको स्थानीयले बताएका छन् ।






















