देश

कांग्रेस सहमहामन्त्रीतर्फ चारवटा क्लस्टरको मतगणना जारी

जगत ठाडा मगर
२०७८ पुस २ | बिहान ११:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खसआर्य गरी चारवटा क्लस्टरको मतगणना सुरु भएको हो । घिमिरेले भने, ‘चारवटा क्लष्टरको मतपेटिका खोलिसक्यौं । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौं ।’

कांग्रेसका आठ सहमहामन्त्री पदमध्ये तीन क्लष्टर (महिला, दलित र आदिवासी जनजाती)को बिहीबार नै नतिजा आइसकेको छ । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजातीतर्फको सहमहामन्त्रीमा भिष्मराज आङदम्बे निर्वाचित भएका छन् ।

थारु क्लष्टरबाट देउवा प्यानलका उमाकान्त चौधरी र कोइराला प्यानलका तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् । त्यस्तै खसआर्य क्लस्टरबाट देउवा प्यानलका किशोरसिंह राठोर र शेखर कोइराला प्यानलका देवराज चालिसे उम्मेदवार छन् ।

मधेसी क्लष्टरबाट सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट महेन्द्र यादव, शेखर कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन् ।

कमेन्टहरु