राजनीति

राजनीतिबाट पनि बाहिरिन सक्छु : मिनेन्द्र रिजाल

जगत ठाडा मगर
२०७८ पुस १ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं । रक्षामन्त्री पदबाट राजीनामा दिएका नेता मिनेन्द्र रिजालले सक्रिय राजनीतिबाटै सन्यास लिन सक्ने बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् ।

‘मैले राजनीतिबाट अलग हुने संकेत गरेको होइन, तर सम्भावना छँदैछैन पनि भन्दिन’, उनले भने, ‘म त्यो निर्णयमा पुगेको छैन । तर एउटा कुरा त के भने गम्भीर रुपमा सोच्छु । सोच्दा फेरि कुन निर्णयमा पुग्छु त्यो जानकारी तपाईँहरूलाई दिन्छु ।’ उनले सार्वजानिक पदमा रहने भएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे निर्णयमा छिट्टै पुग्ने बताए ।

उनले प्रतिनिधिसभाको कार्यकाल रहँदासम्म सरकारलाई प्रतिनिधिसभा सदस्यको हैसियतले सहयोग गरिरहने पनि बताए । रिजालले महाधिवेशनमा पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएकाले मन्त्री पदबाटै राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् ।

महामन्त्री पदमा पराजित भएका उनले यही कुरालाई हृदयङ्गम गर्दा मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

कमेन्टहरु