देश

उपसभापतिमा निर्वाचित भएपछि धनराज गुरुङले दिए यस्तो प्रतिक्रिया

जगत ठाडा मगर
२०७८ पुस १ | बिहान ०८:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित धनराज गुरुङले आफूहरुको जोश जाँगरका आधारमा पार्टी अगाडि बढ्ने बताएका छन् । शेखर कोइरालाको प्यानलबाट उपसभापति उम्मेदवार बनेर बाजी मारेका उनले सभापति शेरबहादुर देउवाको अनुभव र आफ्नो जोश जाँगरको आधारमा पार्टी अगाडि बढ्ने बताए ।

उपसभापतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले निर्वाचनका क्रममा बनेको प्यानल अब नरहने र सभापतिको अनुभव र हाम्रो जोश जाँगरले पार्टी रुपान्तरण हुने बताए । उनले भने, ‘अब सभापतिज्यूले पनि हामीलाई न्यायोचित जिम्मेवारी दिनुपर्छ, हामी पनि भागवण्डा खोज्दैनौं ।’ निर्वाचनमा हारजित स्वाभाविक हुने भन्दै उनले यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताए । बुधबार राति घोषणा भएको मत परिणामअनुसार उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलका गुरुङ निर्वाचित भएका छन् ।

बुधबार राति सम्पन्न मतगणना अनुसार उपसभापतिमा सबैभन्दा धेरै मतका साथ खड्का विजयी भएका छन्। यस्तै गुरुङ झिनो मतान्तरले विजयकुमार गच्छदारलाई पछाडि पार्दै उपसभापतिमा विजयी भएका छन् । दुई जना उपसभापतिका लागि सात जनाबीच प्रतिस्पर्धा भएको थियो। उपसभापतिका अन्य प्रतिस्पर्धीमा चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह थिए।

खड्काले सबैभन्दा धेरै २१२१ मत प्राप्त गरेका छन्। यता गुरुङले मात्र दुई मतान्तरले विजयीकुमार गच्छदारलाई पछाडि पारेका छन्। सभापतिमा भने शेखर कोइराला पराजीत भइसकेका छन् । शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा विजयी हाँसिल गरेका हुन् ।

कमेन्टहरु