स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगिता मिश्रालाई

जगत ठाडा मगर
२०७८ मंसिर २९ | मध्यान्ह ०६:०८ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगिता मिश्राले पाएकी छिन् । समन्वय शाखाको प्रमुखसमेत रहेकी डा. मिश्राले आजदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएकी हुन् ।
‘बिहीबारखि मन्त्रालयको प्रवक्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको छु,’ डा. मिश्राले भनिन्, ‘सरकारले दिएको जिम्मेवारीलाई राम्रोसँग बहन गर्ने छु ।’ उनले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रण तथा रोकथाम लागि केन्द्रित भएर काम गर्ने बताइन् ।
यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक रहेकी मिश्रालाई केही हप्ता अगाडि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयको समवन्य महाशाखाको प्रमुखमा नियुक्ति गरेका थिए ।
तत्कालीन मन्त्रालयको प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मात्रै सम्हाल्ने भएका छन् ।






















