राजनीति

प्रचण्ड र माधव नियन्त्रित अस्थिरताका संवाहक रहेको ओलीको आरोप

जगत ठाडा मगर
२०७८ मंसिर २९ | मध्यान्ह ०१:०८ बजे

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्थिरताका संवाहक रहेको आरोप लगाएका छन् । बुधबार नवनियुक्त केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराएपछि सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्थिरता निम्त्याउने प्रमुख शक्ति प्रचण्ड र माधव नेपाल रहेको बताएका हुन् ।

‘राष्ट्र दुई ध्रुवमा विभाजित हुदै गएको छ । सुशासन र समृद्धितर्फ सिंगो देश केन्द्रीत हुनुपथ्र्यो, भएन । किनभने नियन्त्रित अस्थिरता मच्चाउने कोसिस भइरहेका छन्’, ओलीले भने, ‘ती काम गर्ने शक्ति यहाँ छन् । अस्थिरता मात्रै क्रियड गर्ने ती शक्तिहरूमा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी हुन् ।’ उनले यस कुरामा कुनै भ्रम नराख्न पनि सुझाव दिए ।

साथै ओलीले कतिपयले प्रचण्ड र माधवसँग एकताको कुरा गरेपनि त्यो सम्भव नरहेको बताए । अझै कतिपय साथीहरुले उनीहरुसँग एकताको कुरा गरिरहेको भन्दै उनीहरुसँग एकता गरेर कहि पुग्न नसकिने दावी गरे । ‘अस्थिरताका संवाहकसँग एकता गरेर कहीँ पुगिन्छ ?’ ओलीको प्रश्न छ ‘त्यो एकीकरण सम्भव नै छैन । हामीले राम्ररी चिनेका छौ, तार कहाँ जोडिएको छ ? स्विच कहाँ अन अफ हुन्छ । महान जनयुद्ध भनेर युवाहरुलाई उरालियो, युवाहरु होमिए । हतियार कहाँबाट आयो ? त्यतातिर फर्केर हेर्न दिइन ?’

ओलीले जनयुद्ध पनि आफ्नो दुनो सोझ्याउने नीति अनुसार गरिएको आरोप लगाए । जनयुद्ध र महान क्रान्तिका नाममा बाहिरी देशमा तालिम दिएर युवाहरुलाई बर्वाद पारेर केही मान्छे महान नेताको रुपमा उदाएको ओलीको भनाइ छ ।

कमेन्टहरु