माल्टामा ब्यक्तिगत प्रयोजनको लागि गाँजालाई दियो बैधानिकता


काठमाडौं । युरोपेली मुलुक माल्टाले व्यक्तिगत प्रयोगका लागि गाँजालाई वैधानिकता दिने कानुन बनाएको छ । बेलायती पत्रिका द गार्जियनले जनाएअनुसार यसै सातादेखि लागु हुनेगरी संसद्बाट गाँजालाई वैधानिकता दिने कानुनु पास भएको हो।
माल्टा गाँजालाई वैधानिकता दिने पहिलो युरोपेली देश बन्न पुगेको छ । सांसदद्वारा पारित कानुनलाई राष्ट्रपतिले प्रमाणित गरेपछि यसै साताबाट लागु हुने माल्टाका मन्त्री ओवेन बोनिचीले बताएको जनाइएको छ। उनले गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता दिँदा आपराधीकरण घट्ने र मानिसले औषधिको रुपमा समेत गाँजाको सजिलै प्रयोग गर्न पाइने प्रतिक्रिया दिए।
माल्टामा अब घरमा चारवटा सम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ। १८ वर्ष माथिका नागरिकले ५० ग्रामसम्म सुक्खा गाँजाको भण्डारण गर्न र सात ग्रामसम्म साथमा लिएर हिँड्न अनुमति दिइनेछ । अन्य युरोपेली मुलुकमा पनि गाँजालाई वैधानिकता दिने विषयबारे बहस भइरहेको छ।
सन् २०२२ मा युरोपका धेरै देशले गाँजाको वैधानिकताबारे निर्णय गर्ने सम्भावना रहेको जनाइएको छ । संयुक्त राष्ट्रसंघले गएको वर्ष नै गाँजालाई अति खतरनाक लागुपदार्थको सूचीबाट हटाइसकेको छ।






















