भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

जगत ठाडा मगर
२०७८ मंसिर २९ | बिहान ११:०८ बजे

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी विभिन्न कागजात बरामद गरेको छ । अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायण नगरपालिकामा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो । रिसालले भने, ‘टोलीले निर्माण भएका सडकदेखि संरचनासम्मको स्थलगत अनुसन्धान गरी कागजात बरामद गरेको छ ।’
उनले अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको बताए ।






















