हृदयेश त्रिपाठीले गरे जनता प्रगतिशील पार्टी गठन


अजय मिश्र
कपिलवस्तु, मंसिर २८ । सांसद हृदयेश त्रिपाठी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरिएको हो ।
पार्टी घोषणा कार्यक्रममा त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ दलको गठन भएको नभइ वैचारिक बहस प्रायः शून्य भएकोले नयाँ पार्टी गठन गर्नु परेको बताए । वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिएका कारण नयाँ पार्टी गठन गरीएको उनले बताए ।
कार्यक्रममा अन्य दलको आलोचना गर्दै उनले भने -`असल दल साबित गर्ने अस्वस्थ प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन तसर्थ अन्य दलप्रति हाम्रो आत्मिय सम्मान रहने छ ।´ पत्रकार सम्मेलनमा कांग्रेस नेता दमननाथ ढुंगाना, पूर्व सचिव रामेश्वर खनाल तथा लेखक तुलानारायण साहसमेत सहभागी थिए । पार्टीमा उनीहरुको भूमिकाबारे भने केही खुलाईएको छैन ।
विस्तृतमा पढ्नुहोस् प्रेस विज्ञप्तिः
आदरणीय पत्रकार
आज मिति २०७८ मंसीर २८ गते जनता प्रगतिशील पार्टी, नेपाल गठन भएको सहर्ष जानकारी गराउदछु । अपितु वैचारिक बहस प्रायः शून्य भएको वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिन्छ । अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन् तसर्थ अन्य दलप्रति हाम्रो आत्मिय सम्मान छ ।
वर्तमान परिदृश्यमा दलहरू बीच न्युनतम साझा विषयहरूमा राष्ट्रिय सहमतिको नितान्त आवश्यकता छ । यसले नै लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउनेछ र संविधानलाई चलायमान बनाउने छ ।
क. संविधान कार्यान्वयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्व सहमति प्राप्त बूदाहरूमा संविधान संशोधन गर्न आवश्यक छ । यस कार्यले एकतिर संविधान कार्यान्वयनको क्रममा देखिएका बाधा अवरोध समाप्त हुनेछन् भने अर्कोतिर जनतामा नया आशावादको मनोविज्ञान संचारित हुनेछ
ख. स्थानीय तहको लेखा परिक्षण महालेखा परिक्षकको प्रतिवेदनको विषयमा छलफल र निर्णय गर्न प्रदेश सभा सार्वजनिक लेखा समितिको सदस्यको संयोजकत्वमा महालेखा परिक्षकले नियुक्त गरेको प्रतिनिधि तथा जिल्ला समन्वय समितिको प्रमुख सम्मिलित समिति निर्माण आवश्यक छ । यस कार्यले स्थानीय तहमा देखिएका वेरूजू र आर्थिक अनुशासनहीनतालाई क्रमशः समाप्त गर्दै जनविश्वासमा वृद्धि गराउनेछ ।
ग. स्थानीय तहको सीमाकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिश २ नं प्रदेशमा मात्रै कार्यान्वयन भयो । १ नं लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा निर्वाचनको कारणले कार्यान्वयन भएको छैन् । तसर्थ उक्त आयोगको सिफारिश १ नं, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा पनि कार्यान्वयन गरियोस ।
घ. मुलुकको अर्थतन्त्र, बैंकिङ्ग क्षेत्रमा देखएका चुनौती आदिको विषयमा अविलम्ब सर्वपक्षीय बहसको आवश्यकता छ ।
ङ. मुख्य बालीको रूपमा रहेका धान, गहुँ, उखू, स्याउ, केरा, अदुवा, सुन्तला, दुग्ध लगायतको उत्पादनको न्युनतम समर्थन मूल्य निर्धारण गर्न विशेषज्ञ सम्मिलित स्थायी प्रकृतिको उच्चस्तरीय मूल्य निर्धारण आयोग गठन हुनु आवश्यक छ
च. तराई मधेशका विभिन्न सामाजिक समुह आदिवासी जनजातिहरूसँग रहेका पारम्परिक पेशालाई समयानुकूल बनाउदै सो पारम्परिक पेशाहरूको संरक्षण तथा विकास गर्दै जीवनयापनको भरपर्दो साधनका रूपमा रूपान्तरित गर्नु आवश्यक छ ।
फलतः पारम्परिक पेशा, शिप र ज्ञान पुस्तान्तरण हुदै जीवन्त रहनेछ भने अर्कोतिर ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन सहयोग पुग्नेछ ।
छ. जन्मको आधारमा नागरिकताको प्रमाण पत्र प्राप्त गरिसकेका नेपाली नागरिकको सन्तानले नागरिकताको प्रमाण पत्र पाउन सकेका छैनन् । केही कानूनी व्यवस्थाको निर्माणको प्रयास तार्किक निष्कर्षको प्रयास तार्किक निष्कर्षमा पुग्न सकेन ।
फलतः ती व्यक्तिहरू कष्टकर जीवन बिताउन बाध्य छन् । साथै संविधानमा उल्लेख भएको आमाको नागरिकताको आधारमा नागरिकताको प्रमाण पत्र उपलब्ध गराउने कानूनको अभावले यो पनि कार्यान्वयन हुन सकेको छैन् यस विषयको समाधान अविलम्ब हुनु आवश्यक छ ।
ज. कैलालीबाट अत्यधिक बहुमतले निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय रेशम चौधरी हालसम्म जेलमा रहनु विडम्बना हो । घटनास्थलमा उपस्थित नरहेका व्यक्ति जेल जीवन भोग्नु दुःखद मात्रै होइन कि न्यायिक अपचलन पनि हो
झ. कोभिङ-१९ को विरुद्ध संघर्ष गर्न तथा सचेत रहन सम्पूर्ण देशबासीलाई जनता प्रगतिशील पार्टी, नेपालले हार्दिक अपील गर्दछ ।
ञ. दलहरू बीच परराष्ट्र सम्बन्धमा ऋऋ लगायत कतिपय विषयहरूमा राष्ट्रिय सहमति बन्न नसकेका कारण देशको अन्तर्राष्ट्रिय विश्वसनियतामा प्रश्न चिह्न उठेको वर्तमान अवस्थामा मूलभूत विषयमा अविलम्ब राष्ट्रिय सहमति निर्माण गर्नु आवश्यक छ
पत्रकार साथीहरू,
यी विषयहरू लगायत केही अन्य विषयहरू छन् । जसमा दलहरूले राष्ट्रिय सहमति कायम गर्न सक्छन् र गर्नुपर्छ । संविधानप्रतिको स्वामित्व क्रमशः घटदो छ । दलहरू बीच अस्वस्थ र अभद्र प्रतिस्पर्धा बढ्दो छ । राज्यका अंगहरू बीचको सीमा उलंघनले संविधान घाइते भइरहेको छ । यो नितान्त अशुभ सङ्केत हो । यी चुनौतीहरूबाट पार पाउन मुद्दा र बुदामा आधारित राष्ट्रिय बहस र राष्ट्रिय सहमतिको विकल्प छैन् । जनता प्रगतिशील पार्टी, नेपाल नविन विचार, व्यवहार र कार्यशैलीका साथ आफ्नो गतिविधि सञ्चालन गर्नेछ ।
किसान, मजदूर, युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, राजनीतिकर्मी, सञ्चारकर्मी लगायत सम्पूर्ण महानुभावहरूबाट नया दलले पुर्ण सहयोगको आशा राखेको छ । धन्यवाद । सम्पूर्ण जानकारी पूर्वमन्त्री इश्वर दयाल मिश्रा (बिरेंद्र मिश्रा) ले दिनुभयो l






















