मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य गर्न कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ : अध्यक्ष यादव


सप्तरी, २७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कृषिकै आधुनिकीकरण एवम् भुमिको व्यवस्थापनले मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य हुने बताएका छन । सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदेश कृषि विश्वविद्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य गर्न नै यहाँ कृषि विश्वविद्यालयको स्थापना भएको छ’ उनले भने ‘यसबाट निस्किने दक्ष जनशक्तिले नै कृषिलाई आधुनिकीकरण गर्ने र भुमिको पनि व्यवस्थापन गरेर उत्पादनमा वृद्धी ल्याउँछन् ।’ उनले थप्दै भने ‘अहिले हामीलाई समान्य कृषि उपजहरु पनि भारत, चाइना लगायतका मुलुकहरुबाट आयात गर्नुपर्ने बाध्यता रहेकाे छ । कृषिमा आधुनिकीकरण भएसँगै हामी पनि निर्यात गर्न सक्षम हुन्छौं ।’
अहिले देशभर नै परम्परागत हिसाबले कृषि उत्पादन हुँदै आएको छ । उनले भने–‘प्रदेशका साथै मुलुकलाई नै समृद्ध पार्न कृषिलाई आधुनिकरणको आवश्यकता रहेकाे छ ।’






















