भोलिको प्रतिनिधिसभा बैठकमा ६ अध्यादेश पेश गरिने


काठमाडौं । भोलि (मंगलबार) बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची उल्लेख छ ।
मंगलबार दिउँसो २ बजे सुरु हुने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेणुकुमारी यादवले रेल्वे अधयादेश २०७८ पेश गर्ने, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।






















