राजनीति

प्रचण्ड र माधव नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागे : शंकर पोखरेल

जगत ठाडा मगर
२०७८ मंसिर २७ | मध्यान्ह ०३:०८ बजे

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको आरोप लगाएका छन् ।

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको र नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लागेको दाबी गरेका हुन् । उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप समेत लगाए ।

महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रुपमा रहेको उल्लेख गरे ।

उनले भने ‘हामीले भन्यौँ ६२-६३ को परिवर्तन पछाडि अब समाज कहाँ जाने भन्ने कुराका सन्दर्भमा दुईवटा कित्ताका बिचमा बाँडिनेछ, एउटा समाजवाद तर्फको यात्रा । एउटा पुँजीवाद तर्फको यात्रा। पुँजीवाद तर्फको यात्राको नेतृत्व कांग्रेसले गर्छ भनेर भन्यौँ। आज प्रचण्ड र माधव नेपालहरु कांग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लाग्नुभाछ भनेपछि दक्षिणपन्थी अवसरवाद भनेको यही हो । यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मख्सद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ।’

महासचिव पोखरेलले एमालेलाई तिनै तहको निर्वाचनमा बहुमत प्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको बताए । एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको भन्दै उनले सो षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकता रहेको औँल्याए ।

पार्टीले अघि सारेको एजेण्डा र लक्ष्यका कारण बहुमत जनताको समर्थन प्राप्त गर्न सम्भव रहेको उनको भनाइ छ ।

कमेन्टहरु