मतदानस्थलमा निर्वाचन समितिले फोटो खिच्न नदिएपछि फोटो पत्रकारहरुको विरोध


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदानस्थलमा निर्वाचन समितिले फोटो खिच्न नदिएको भन्दै फोटो पत्रकारहरुले विरोध जनाएका छन् ।
राष्ट्रिय सभागृहमा काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई निर्वाचन समितिले बाहिर निकाल्न खोजेपछि सञ्चारकर्मीहरूले मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।
फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । प्रहरीले केही फोटो पत्रकारलाई लछारपछारसमेत गरेका छन् । पत्रकारलाई भित्र छिर्न नदिनुका साथै हातपात र दुर्व्यवहार गरेको विरोधमा फोटो पत्रकारहरुले क्यामरा डाउन गरेका हुन् ।
अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएका छन् ।उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।






















