देश

कांग्रेस प्रतिनिधि मतदान गर्न लामबद्ध, मत माग्दै उम्मेदवारहरु

जगत ठाडा मगर
२०७८ मंसिर २७ | बिहान ०९:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुँदै छ । महाधिवेशन प्रतिनिधिहरु मतदान गर्न लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।

भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ । सभागृहलाई मतदान स्थल क र ख बनाइएको छ भने भृकुटीमण्डपलाई ग बनाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३ बुथ, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् भने प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि भृकुटीमण्डको प्रांगणमा व्यवस्था गरिएको छ ।

त्यस्तै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । उनका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।

महाधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा भने विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको छ । मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ ।

कमेन्टहरु