माओवादी केन्द्रको उपत्यका प्रदेशको अध्यक्षमा सिम्खडा र सचिवमा बस्नेत निर्वाचित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिम्खडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् ।
यसैगरी सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चयन गरेको हो । शनिबार काठमाडौंमा उदघाटन भई आइतबार रातिसम्म चलेको बन्दसत्रले सिम्खडाको नेतृत्वमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समिति घोषणा गरेको निर्वाचन समितिका प्रमुख डा.जगतकृष्ण पोखरेलले बताए ।
सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए । दुई दिन चलेको सम्मेलनको बन्दसत्रले आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको थियो ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११–१३ मा काठमाडौंमा हुँदैछ । सोहीअन्तर्गत प्रदेश सम्मेलन आयोजना भएको हो ।






















