देश

काँग्रेस महाधिवेशन : आज बिहान ८ बजेदेखि मतदान सुरु

जगत ठाडा मगर
२०७८ मंसिर २७ | बिहान ०६:०८ बजे

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ । निर्वाचन समितिका अनुसार सबै पदका लागि मतदान सकिए लगत्तै आजै सभापतिको मतगणना सुरु हुने छ ।

काँग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने छ । यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुनेछ र मतगणना पनि सभागृहमै हुनेछ ।

पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । निर्वाचनमा मतदानका लागि २९ वटा मतपत्र र ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । निर्वाचन साँझ पाँछ बजेसम्म हुने स्रोतले जनाएको छ ।

कमेन्टहरु