राजनीति

सभापतिमा जितेको प्रधानमन्त्री लिएर उच्च मनोबलका साथ निर्वाचनमा जाऔँ : सिटौला

जगत ठाडा मगर
२०७८ मंसिर २६ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन् ।

आइतबार एक कार्यक्रममार्फत महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै सिटौलाले चाँडै नै तीनै तहको निर्वाचन हुने भन्दै निर्वाचनमा जानका लागि सभापतिमा जितेको प्रधानमन्त्री लिएर उच्च मनोबलका साथ जानुपर्ने खाँचो रहेको बताए । आन्तरिक व्यवस्थापन गर्न नसक्दा विगतमा पनि काँग्रेसले हार व्यहोरेको चर्चा गर्दै सिटौलाले कम्युनिस्ट पार्टीभित्रको कलहले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएको र काँग्रेसले अवसर प्राप्त गरेको बताए ।

उनले आगामी निर्वाचनसम्म सभापति देउवा नेतृत्वकै सरकार टिक्नुपर्ने खाँचो रहेको पनि औंल्याए । ‘अहिलेको सरकार रहेमात्र धाँधलीरहित निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘वामपन्थीले गृह मन्त्रालय पाउँदा २०५४ सालमा के अवस्था आएको थियो भन्ने हामीलाई राम्रोसँग थाहा छ । त्यसैले यो सरकार जोगाएर निर्वाचनमा पुग्नु पर्छ ।’

उनले महाधिवेशन प्रतिनिधितर्फ उदृद गर्दै प्रश्न गरे, ‘सभापति पदमा हारेको प्रधानमन्त्री बोकेर निर्वाचनमा जाने कि सभापति जितेको प्रधानमन्त्री बोकेर जाने ? नेपाली काँग्रेस पार्टीको, लोकतान्त्रिक व्यवस्थाको कुरा गर्दै छु म । निर्वाचनमा पार्टीलाई जिताउन उच्च मनोबल भएको प्रधानमन्त्री चाहिन्छ ।’ सभापति पदमा पराजित भएको प्रधानमन्त्री लिएर निर्वाचनमा जाँदा मतदातामा मनोवैज्ञानिक असर पर्ने भन्दै उनले देउवालाई सभापतिमा निरन्तरता दिन आजको आवश्यक रहेको बताए ।

उनले भने, ‘दुई कार्यकाल सभापति बन्न पाउने व्यवस्था विधानले नै गरेको छ, त्यसैले देउवालाई नै एक पटक फेरि सघाउँ भन्ने मलाई लागेको हो ।’ मतदानको अघिल्लो दिन आयोजित कार्यक्रममा सिटौलाले सडकमा बसेर आफूले देउवालाई समर्थन गर्ने पनि बताए । उनले भने, ‘देउवाको टीममा परिपक्वदेखि युवा नेताहरुसम्म छन् ।’

कमेन्टहरु