एमविविएस कार्यक्रम उद्धाटन बिषयमा पत्रकार भेटघाट,राष्ट्रपतिद्वारा उद्घाटन हुदै


जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाको एमविविएस कार्यक्रका औपचारिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्दैै हुनुहुन्छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले पत्रकार सम्मेलन गरेर सो कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जानकारी दिनुभएको हो ।
यस्तै, प्रवक्ता डा. रमेश भट्टराईको हस्ताक्षर रहेको विज्ञप्तिमा प्रतिष्ठानमा एमविविएस, विएनएस, विफर्मालगायतका कार्यक्रम संचालनमा ल्याउनु कर्णाली र राष्ट्रको गौरवको बिषय रहेको बताइएको छ । प्रतिष्ठानले स्विकृत २० मध्ये १९ जनाले एमविविएस भर्ना गरिसकेको जानकारी दिएको छ ।
यस्तो छ तयारी–
कर्णालीको कोशेढुङ्गाको रुपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डाक्टर उत्पादन गर्ने विषयको बहुप्रतिष्ठित कार्यक्रमको उद्धाटन तयारी पूरा भएको छ । प्रतिष्ठानको केन्द्रीय कार्यालयको प्रांगणमा एक भब्य समारोहकाबीच राष्ट्रपति भण्डारीका लागि सरकारको विशेष सुरक्षा टोली जुम्ला आइपुगेको छ । स्थानीय स्तरमा रहेका सबै सुरक्षा निकायले सतर्कता अपनाएको छ ।
कार्यक्रम र राष्ट्रपति भण्डारीसहितका पाहुनाहरुलाई स्वागतका लागि नेपाल सरकारका स्वास्थ्य जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकाल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्री कृष्ण गिरी, डा. गुणाराज लोहनी, प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहितको टोली जुम्ला पुगेको प्रमुख सल्लाहकार डा. रमेश ढकालले जानकारी दिनुभयो ।
यसैगरी, कर्णाली प्रदेश प्रमुख तिलक परियार समेत सो कार्यक्रममा सरिक हुन अघिल्लो दिन जुम्ला आइपुग्नुभएको छ । प्रतिष्ठानले कार्यक्रमका लागि मञ्च व्यवस्थापन, स्वागत तयारी, मिडिया समन्वय र अन्य व्यवस्थापन गरिसकेको बताइएको छ । कार्यक्रमको अघिल्लो दिन प्रतिष्ठानमा थप सरसफाई र सुरक्षा कडा गरिएको देखिन्छ ।






















