शिक्षाबिना मुस्लिम समुदायको समग्र विकास सम्भव छैन : मुख्यमन्त्री राउत


सिताराम साह
मंसिर २५ । मुख्यमन्त्री लालबाबु राउतले शिक्षाबिना मुस्लिम समुदायको समग्र विकास सम्भव नरहेको बताएका छन् । मुस्लिम आयोगद्वारा शनिबार जनकपुरधाममा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउतले मुस्लिम समुदायले शिक्षामा पहुँच नबनाएसम्म राज्यको मुल धारबाट बाहिरै रहने बताएका हुन् ।
मदरसा शिक्षालाई राज्यले मान्यता दिनु पर्नेमा जोड दिँदै मुख्यमन्त्री राउतले मदरसा शिक्षाका साथै आधुनिक शिक्षासँग बालबालिकाहरुलाई जोड्न मुस्लिम अगुवाहरुलाई आग्रह समेत गरे । प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठनको लागी विधेयक सदनमा पुर्याइसकेको उनले बताए । मुख्यमन्त्री राउतले मदरसामा अरबी र उर्दुका साथसाथै अंग्रेजी, विज्ञान र गणित शिक्षाको अध्यापन समेत हुनु पर्नेमा जोड दिए ।
अरु माथी औला ठड्याएर मात्र मुस्लिम समुदायको विकास सम्भव नरहेको बताउदै राउतले समाजको अगुवाहरुलाई समेत जिम्मेवार हुन आग्रह गरे । प्रदेश सरकारले सबै जात समुदायलाई जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गरि सकेको उनको भनाइ छ । उनले मुस्लिम समुदायले प्रदेश सरकारको सम्पुर्ण निकायमा १२ प्रतिशत आरक्षण पाउने विश्वास दिलाएका छन् ।
उनले धार्मिक, ऐतिहासिक स्थलहरुको सौन्दर्यीकरणको क्रममा प्रदेश सरकारले जानकी मन्दिर, विद्यापति डिहका साथै रौजा मजारलाई समेत प्राथमिकतामा राखेर सौन्दर्यीकरणको कामलाई तिब्रता दिएको बताए ।
आयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साह सहितका वक्ताहरुले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफनो धारणा व्यक्त गरेका थिए ।






















