कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी दर्ता

जगत ठाडा मगर
२०७८ मंसिर २५ | बिहान ११:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा आज बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
केन्द्रीय सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । उनले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नगर्ने बताए । गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
यस्तै सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।






















