राजनीति

आज माओबादी केन्द्रले देशैभरका प्रदेश सम्मेलन गर्दै

जगत ठाडा मगर
२०७८ मंसिर २५ | बिहान ०७:०८ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज सबै प्रदेशमा प्रदेश सम्मेलन गर्न लागेको छ। माओवादीले भौगोलिक सात र तीन गैर भौगोलिक तीन गरी १० प्रदेशमा सम्मेलन गर्न लागेको हो। सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ।

सम्मेलनको अध्यक्ष प्रचण्डले दिउसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसँगै उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास समितिलाई प्रदेश सरहको मान्यता दिएको छ।

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको दाङको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुन लागेको छ । सम्मेलनबाट माओवादी केन्द्रले नौ पदाधिकारीसहित प्रदेश सदस्य चयन गर्नेछ। सबै प्रदेशमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक रहने व्यवस्था गरिएको छ।

सदस्य संख्या भने प्रदेश अनुसार फरकफरक हुने भएका छन्। प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय प्रदेश समिति हुनेछ । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

कमेन्टहरु