काँग्रेस महाधिवेशन : सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी दर्ता आज


काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार बिहानदेखि सुरु हुँदैछ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुने छ ।
काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनसत्र र बन्दसत्र शुक्रबार नै सम्पन्न भएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि मङ्सिर २६ गते आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ ।
अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने छ । नेपाली काँग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ । सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने छ ।
केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्न पाउने व्यवस्था काँग्रेसको विधानमा उल्लेख छ । त्यस्तै सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था पनि विधानमा उल्लेख छ ।






















