भाजपाका नेताले भने, ‘यतिका पूर्व प्रधानमन्त्री एकसाथ एउटै मञ्चमा पहिलो पटक देखेँ’


काठमाडौं । भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा. हर्षवर्धनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एकसाथ एउटै मञ्चमा देख्न पाएको बताए। उनले यस्तो भारतमा पनि देख्न नपाएको बताएका थिए।
काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु पनि आफ्नो लागि नौलो रहेको बताउँदै विश्वमा यस्तो कतै पनि नदेखिएको बताए। केही दिन पहिले एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफै उपस्थिति भएको कुरालाई उल्लेख गर्दै उनले नेपाली राजनीतिक दललाई बधाई दिए।
नेपाल–भारतको सम्बन्धबारे कुरा राख्दै उनले सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको जिकिर गरे। त्यस्तै कोभिडमा पनि भारतले नेपालीका लागि औषधीको व्यवस्था गरेको स्मरण गरे। नेपाल–भारतको बीचमा रहेको मुटुको सम्बन्ध, सामाजिक सम्बन्धलाई अझै बढाउनुपर्ने कुरामा जोड दिँदै उनले नेपाल अझ समृद्ध होस् भनी कामना गरे। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिए।






















