देश

द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

जगत ठाडा मगर
२०७८ मंसिर २४ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउने बताएका हुन् । उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार रहेको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानव अधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगमा वर्तमान पदाधिकारी नियुक्तिपछि आयोगले सन् २०२१ देखि २०२६ सम्मका लागि रणनीतिक योजना निर्माण गरेको बताए ।

उनले उक्त योजनाले संघ, प्रदेश तथा स्थानीय तहमा मानव अधिकार संरक्षण तथा संवद्र्धनका लागि कार्य गर्न आयोगलाई दिशानिर्देश गरेको बताउँदै व्यवसाय र मानव अधिकार, जलवायु परिवर्तन र मानव अधिकार, भ्रष्टाचार र मानव अधिकार, दिगो विकास लक्ष्य र मानव अधिकार राष्ट्रिय कार्ययोजनाको अनुगमन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

अध्यक्ष मगरले नेपालमा ३० प्रतिशत नागरिकमा मात्रै खोपको पहुँच पुगेको भन्दै सरकारले खोपको मात्रामा वृद्धि गर्दै सबै नागरिकको पहुँचमा पु-याउनु पर्ने बताए । उनले दिगो विकासका १७ वटा लक्ष्यहरु मानव अधिकारसँग सम्बन्धित भएकोले यसलाई जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न पनि आग्रह गरे ।

कमेन्टहरु