देश

सडक बिस्तारमा ढिलाइ भएको भन्दै बुटवलवासीद्वारा आन्दोलनको कार्यक्रम घोषणा

जगत ठाडा मगर
२०७८ मंसिर २४ | बिहान ०८:०८ बजे

बुटवल । बुटवलको ६ लेन सडक निर्माणमा ढिलाई भएको भन्दै बुटवलवासी आन्दोलित भएका छन्।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडक विस्तार कार्य ढिलाई हुँदा समस्या उत्पन्न भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयले सडक मर्मत सहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पुस २६ गते बुटवल बन्दको आह्वान समेत गरेका छन्।

संघर्ष समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी वडा नम्बर १ र २ र वडा नम्बर ६ को ताइवान टोलमाथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ्।

मंगलबार दिउँसो नागरिक समाजका अगुवा संस्थाबीच छलफल गरेको समितिले साँझ सडकमै पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा कार्यक्रमहरू सार्वजनिक गर्दै समितिका अध्यक्ष कमल गौतमले बुधबार नागरिक समाज तथा सरोकारवाला संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै समितिले पुस ३ गतेसम्म राजनीतिक दल, विभिन्न संघसंस्था, नेपाल सरकारका सम्बन्धित कार्यालयहरूमा ज्ञापन पत्र दिने, पुस ४ गते सडक विभागमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ। पुस ६ गते खानेपानी संस्थानमा धर्ना दिई ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम समितिले बताएको छ।

समितिले पुस १५ गते नगरपालिकामा धर्ना, १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेछ भने पुस २३ गते एक घण्टा चक्काजाम गर्ने छ। त्यस्तै समितिले पुस २५ गते नाराजुलुस गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कमेन्टहरु