देश

बेवारिसे अवस्थामा नवजात शिशु फेला

जगत ठाडा मगर
२०७८ मंसिर २३ | मध्यान्ह ०९:०८ बजे

सिरहा । सिरहामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ । जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाईल चोकदेखि करिव ३ सय मिटर दक्षिण सडक छेउमा बुधबार शिशु फेला परेको हो ।

स्थानीयवासी सन्तोष साहका अनुसार बाटोमा हिँडिरहेका मानिसले बच्चा रोइरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल लगिएको थियो । बच्चालाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा भेटिएकोे थियो ।शिशुको जन्म करिब एक साता अघि मात्रै भएको अनुमान गरिएको छ ।

उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन गरिएको छ ।अवैध सम्बन्धका कारण बच्चा जन्मेकाले समाजको डरका कारण आमाले घर लैजान नसकी बाटोमै छोडेर हिँडेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

अहिले शिशुलाई जिल्ला अस्पताल सिरहामा राखिएको सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । बच्चा कसको हो र किन फालिएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको कवारीले बताए ।

कमेन्टहरु