कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा


काठमाडौ । कांग्रेस नेता मीन विश्वकर्माले १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसको १४औं महाधिवेशन भोलिदेखि सुरू हुँदैछ । यो महाधिवेशनबाट कांग्रेसले विभिन्न समावेशी समूहबाट आठजना सहमहामन्त्री हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको नेता विश्वकर्माले बताए । सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका उनी पार्टीको १२ औँ र १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
नेपाल दलित संघको केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्मा पूर्व वाणीज्यमन्त्री र संविधानसभा सदस्यसमेत हुन् । ‘मैले सभापति ज्यूलाई भेटेर सहमहामन्त्रीमा उठ्छु भनिसकेको छु । सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले मैले अहिले तपाईहरूमाझ आफ्नो उम्मेदवारी घोषणा गर्दैछु।’
उनले काँग्रेस नै सबैभन्दा पहिलो र ठूलो समावेशी पार्टी भएको दाबी गरे । ‘काँग्रेस जन्मिदैदेखि समावेशितालाई जोड दिएको थियो, दलित समुदायको लागि मात्रै होइन, समग्र समावेशी समूहका लागि कांग्रेस नेतृत्वका सरकारले धेरै काम गरेका छन्,’ उनले भने, ‘अहिलेको समावेशी संविधान जारी गर्ने कुरामा पनि काँग्रेसको अमूल्य योगदान छ।’






















