सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्छौँ : देउवा


काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए ।
बिहीबार काठमाडौंमा सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नाकम पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न सबै नेताहरुलाई आह्वान गरे ।
देउवाले भने, ‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जितहार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियाको रूपमा लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस् ।’
महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता-कार्यकर्ताहरू उस्तै उत्साह बोेकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरे । १४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै देउवाले भने, ‘यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।’
डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक डा. महतले नेपालीमा त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रुप हो । वीपी कोइरालाको पालामा नेपाली कांग्रेसको आर्थिक नीति जे थियो, आधुनिक नेपालको आर्थिक नीति त्यही रहेको भन्दै डा. महतले नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिबारे यस पुस्तकबाट जानकारी लिन सकिने बताए ।
हाल अंग्रेजी भाषामा रहेको यो पुस्तकलाई नेपाली संस्करणमा पनि प्रकाशित गर्ने डा. महतले बताए ।






















