देश

बाजुरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर २३ | बिहान ११:०८ बजे

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको हो ।

गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकी ल्याउने तयारी भइरहेको छ । दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । रासस

कमेन्टहरु