नेपालमा ओमिक्रोन पहिचान गर्न जिन सिक्वेन्सिङ बढाउने तयारी


काठमाडौ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकार जिन सिक्वेन्सिङ बढाउने तयारीमा लागेको छ । जिन सिक्वेन्सिङ भइरहेका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आउँदो साता २० वटा नमुना परीक्षणको तयारी भइरहेको प्रयोगशाला निर्देशक डा. रुना झाले बताइन् ।
जिन सिक्वेन्सिङ गर्न लामो समय लाग्ने र महँगो पर्ने भएकाले हाल शंकास्पद नमुना मात्रै परीक्षण गरिँदै आएको छ । पिसिआर परीक्षणमा कोरोना भाइरसको जिन शरीरमा छ कि छैन भनेर मात्रै जाँच गरिन्छ भने सिक्वेन्सिङमा जिनको बनावट अध्ययन गरिन्छ । पिसिआर परीक्षणमा एस–जिन फेला नपरे सिक्वेन्सिङ गरिन्छ ।
यसअघि विदेशबाट आएका दुईजनामा पिसिआर पजिटिभसँगै एस–जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको थियो । हाल उनीहरूको रिपोर्ट नेगेटिभ आइसकेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी कोरोना पजिटिभ देखिएपछि मात्रै भेरियन्ट छुट्याउन थप परीक्षण आवश्यक पर्ने बताउँछन् । ‘अहिले नाका र एयरपोर्टमा परीक्षणको दायरा बढाएका छौँ ।
एस–जिन फेला परेका नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टिको सम्भावना भएकाले जिन सिक्वेन्सिङका लागि पठाउने तयारी भइरहेको छ,’ उनले भने । ओमिक्रोन विरुद्ध ट्रायलमा फाइजरको खोप दक्षिण अफ्रिकामा गरिएको क्लिनिकल ट्रायलमा फाइजर खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी देखिएको डब्लुएचओले जनाएको छ ।
योसँगै हाल प्रयोगमा आइरहेका खोप ओमिक्रोनविरुद्ध उपयोगी हुने अपेक्षा गरिएको छ । तर, अन्य भेरियन्टको तुलनामा ओमिक्रोनविरुद्धको प्रभावकारिता ४१ प्रतिशतले कम देखिएको प्रारम्भिक अध्ययनले देखाएको छ । खोप लगाएका १२ जनाको मात्रै प्लाज्मा नमुना परीक्षण गरेर यो अध्ययन गरिएको डब्लुएचओले जनाएको छ । जसमध्ये ६ जना एकपटक कोभिड संक्रमण भइरहेका व्यक्ति हुन् ।






















