देश

सहमहामन्त्री पदमा सीता गुरुङको उम्मेदवारी घोषणा

जगत ठाडा मगर
२०७८ मंसिर २२ | मध्यान्ह ०२:०८ बजे

काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वराज्यमन्त्री सीता गुरुङले २४ गतेदेखि सुरु हुने काँग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले आदिवासी जनजातितर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत हुन् ।

कांग्रेसले यसपटक खस आर्य, महिला, मधेसी, आदिवासी जनजाति, दलितलगायत आठवटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था गरेको छ । ‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ, मैले लामो समयदेखि पार्टी र आदिवासी जनजाति समुदायको कार्य गर्दै आएको छु,’ गुरुङले सञ्चारकर्मीसँग भनिन्, ‘त्यहीकारण पनि मैले महिलातर्फ होइन, आदिवासी जनजातितर्फ नै सहमहामन्त्रीको दाबी गरेकी हुँ ।’

उनी पार्टीको १२औँ र १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइ २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्वार थिइन् । दुवै संविधानसभामा सदस्य रहेकी नेत्री गुरुङ २०७४ सालको काँग्रेस नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत भएकी थिइन् ।

कमेन्टहरु