देश

भक्तपुरमा कुटपिट गरी एक युवकको हत्‍या

जगत ठाडा मगर
२०७८ मंसिर २२ | मध्यान्ह ०१:०८ बजे

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सोहि नगरपालिका-३ बालकोटका ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

उनी राष्ट्रिय युवा संघ नेपालका भक्तपुर जिल्ला कमिटी सदस्य समेत थिए । गए राति करीब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते फलामे पुल काटेलगत्तै खाली जग्गामा अज्ञात समूहले कुटपिट गरी गम्भीर घाइते बनाएर छोडेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकबहादुर जीसीले जानकारी दिए ।

उनका अनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको अवस्थामा स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि ठिमीस्थित मध्यपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा राती नै मृत्यु भएको उनले जानकारी दिए । मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेकोले कुटपिटबाट तथा हतियार प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत थिमीबाट प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ । हत्यामा सलंग्न भएको आशंकामा केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी रहेको रेग्मीले बताए ।

कमेन्टहरु