सिटौलालाई भेट्न उनकै निवास पुगे रामचन्द्र पौडेल


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेट्न उनकै निवास पुगेका छन् । आफ्नो समूहबाट १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सकस परिरहेका बेला पौडेल सिटौलालाई भेट्न चन्डोल पुगेका हुन् ।
आजको भेटमा पौडेलले सिटौलालाई आगामी महाधिवेशनबाट नेतृत्वका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ । जवाफमा सिटौलाले यस विषयमा निर्णय लिन आफ्नो समूहमा छलफल गर्नुपर्ने बताएका थिए । दुई नेताबीच करिब आधा घण्टा बहस भएको थियो ।छलफलपछि नेता पौडेल आफ्नो निवास फर्किएका छन् ।
यता, साझा उम्मेदवार चयनका लागि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएको बैठकमा सभापतिका दाबेदारहरू नै नआएपछि अलपत्र बनेको छ । बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफलको बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेट्न सिधै उनकै निवासमा पुगेका थिए । यसअघि सिटौलालाई खासै महत्त्व नदिएका पौडेल उनकै निवास पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
उता, सिटौलाले जिल्लादेखि प्रदेश अधिवेशनमा पार्टीका सभापति शेरबहादुर देउवासँग ‘एलायन्स’ गरेका थिए । केन्द्रमा पनि सिटौला र देउवाबीच नै एलायन्स बन्न सक्ने हल्ला चलिरहेको छ ।






















