देश

ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त

जगत ठाडा मगर
२०७८ मंसिर २२ | बिहान ०६:०८ बजे

काठमाडौ । ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् । मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

स्वास्थ्य मन्त्रालयले सोमबार अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पिसिआर रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोम पहिलोपटक गत २४ नोभम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।

नेगेटिभ रिपोर्टसहित काठमाडौं उत्रिएको चार दिनपछि ७ मंसिरमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनीहरू पिसिआर परीक्षणका लागि एक निजी प्रयोगशाला पुगेका थिए । रिपोर्ट पजिटिभ आएको थियो । अफ्रिकाबाट आएकाले पनि शंकास्पद सूचीमा परेका उनीहरूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एस–जिन सिक्वेन्सिङ गरिएको थियो । आइतबार आएको रिपोर्टमा उनीहरूमा ओमिक्रोन पुष्टि भएको थियो ।

दुवैजनाको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । उनीहरू नेपाल आएपछिको चार दिनसम्मको ट्राभल हिस्ट्रीबारे भने जानकारी छैन । ओमिक्रोनकै आशंकामा थप केही व्यक्तिको पनि जिन सिक्वेन्सिङ परीक्षणको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । नयाँ पत्रीकाबाट

कमेन्टहरु