Opens in a new tab

राजनीति

काँग्रेस अब पनि सुध्रिएन भने समाप्त भएर जान्छ : गगन थापा

जगत ठाडा मगर
२०७८ मंसिर २१ | मध्यान्ह ०६:०८ बजे

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौँमा शंकर तिवारीले लेखेको ‘कसले सुधार्ने काँग्रेस’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए पार्टीका नौ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने बताएका हुन् ।

उनले नौ लाख पार्टीका कार्यकर्तालाई काँग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काँग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काँग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सक्नुपर्नेमा जोड दिए ।उनले काँग्रेस चुनाव जित्ने दाबी गरिरहेका बेला आम जनतामा काँग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन सक्नुपर्ने बताए ।

नेता थापाले भने–‘कसले बिगार्‍यो काँग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ काँग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने काँग्रेस ? काँग्रेस सुध्रेन भने के हुन्छ ? सुध्रेन भने काँग्रेस सकिन्छ । काँग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली काँग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ ।’

उनले काँग्रेसको चौधौँ महाधिवेशनपछि काँग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली काँग्रेससँग जोड्नुपर्ने बताए । उनले पार्टीमा बिचार र नेतृत्व दुवै आवश्यक रहेको बताउँदै पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभई अन्य नागरिकहरूलाई जोडिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

नेता थापाले काँग्रेसका युवा नेता तिवारीद्वारा लिखित पुस्तक ‘कसले सुधार्ने काँग्रेस’ भित्र काँग्रेस बिगार्ने तत्त्वहरू तथा सुधार गर्ने विषयमा धेरै कुरा समेटिएको बताए । उनले लेखक तिवारी काँग्रेसभित्र निकै अध्ययनशील व्यक्तित्व रहेको उल्लेख गर्दै महाधिवेशनपछि पार्टीलाई अगाडि बढाउन बिचार निर्माणमा जोड दिनुपर्ने बताए ।

कमेन्टहरु