राजनीति

चार मन्त्रालय नपाए हामी सरकारबाटै बाहिरिन्छौँ : नेता महेन्द्रबहादुर शाही

जगत ठाडा मगर
२०७८ मंसिर २० | मध्यान्ह ०२:०८ बजे

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालय भागबण्डाको किचलो झन् बढ्ने देखिएको छ । कर्णाली प्रदेश माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सबैभन्दा ठूलो दलको हिसाबले कम्तिमा चार मन्त्रालय पाउनुपर्ने र नपाए सरकारबाटै बाहिरिने बताएपछि मन्त्रालय भागबण्डाको विषय थप पेचिलो बनेको हो ।

माओवादीको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले भने कुनै पनि हालतमा माओवादीलाई चार मन्त्रालय दिन नसकिने बताइरहेका छन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाहीले केही दिनअघि माओवादीका एक नेता विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका थिए । तर अब थप तीन मन्त्री नपाए माओवादीले विष्टलाई पनि सरकारबाट फिर्ता बोलाउने नेता महेन्द्रबहादुर शाहीले बताए ।

मुख्यमन्त्री शाहीले एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले मन्त्रालयको भागबण्डा मिलाउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यहाँ प्रमुख सत्तारुढ दल नेकपा माओवादीले चार मन्त्रालयमा दाबी गरिरहेको छ भने नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय मागिरहेको छ । काँग्रेसले पनि मुख्यमन्त्रीसहित तीन मन्त्रालय दाबी गरिरहेको छ । जसकारण भागबण्डा मिल्न सकेको छैन ।

‘हामी सबैभन्दा ठूलो दल भएका कारण चार मन्त्रालयमा दाबी गर्नु अनौठो होइन’, नेकपा माओवादी संसदीय दलका नेता शाहीले भने, ‘चार मन्त्रालय नपाए हामी सरकारमा जाँदैनौं, गएको एक मन्त्रीलाई पनि फिर्ता बोलाउँछौं ।’

कमेन्टहरु