सर्लाहीको बलरा नगरपालिकामा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

जगत ठाडा मगर
२०७८ मंसिर २० | मध्यान्ह १२:०८ बजे

सर्लाही । सर्लाहीमा सोमबार १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बिहान दाउरा खोज्न गएकी किशोरीलाई बलरा नगरपालिका–४ मा चार जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् ।
तर, सर्लाहीका एसपीले दुई जनाले मात्र बलात्कार गरेको जिकिर गरेका छन् । सर्लाहीका एसपी कृष्ण प्रसाईले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । उनले भने– ‘किशोरीलाई मेडिकल जांँच गर्न पठाएका छौं, बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेका छौं ।’
बलात्कृत किशोरी बलरा नगरपालिका–५ की मुस्लिम समुदायकी हुन् । एसपी प्रसाईले आरोपीको नाम खुलाएका छैनन् । बलात्कारमा चारजना संलग्न भएपनि प्रहरीले दुईजनालाई मात्र पक्राउ गरेर अरु दुईजनालाई उम्काउन खोजेको स्थानीयको आरोप छ ।






















