पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनु पर्छ : रामचन्द्र पौडेल


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका छन् । आइतबार ‘कांग्रेसको अबको बाटो, रुपान्तरणको १० सूत्र’ शीर्षकमा दस्तावेज सार्वजनिक गर्दै नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको बताए ।
उनले भने ‘राजनीतिक दलहरुभित्र आन्तरिक लोकतन्त्र कायम गर्न जरुरी देखेको छु । दलभित्र जसको कार्यकारी अधिकार छ उसले आफू अनुकुल हुनेगरी नियम बनाउने चलन छ । यसले विधि र प्रक्रियालाई अगाडि बढाउन सक्दैन । कार्ल मार्क्सको एउटा वाक्यले सारा विश्व दुनियाँका चेतनशील बुद्धिजीवी क्रान्तिकारीलाई एकताबद्ध बनाएको थियो । हामीले लोकतन्त्रलाई बलियो बनाउने हो भने नेतृत्वले सबै पक्षलाई एकजुट बनाएर लैजान सक्नुपर्छ ।’
उनले आज अदालतको अवस्था बिग्रनुमा आन्तरिक लोकतन्त्र कमजोर हुनु मुख्य कारण रहेको उल्लेख गरे । संवैधानिक परिषदलाई भत्काउन देशको प्रधानमन्त्री, प्रधानन्यायाधीशदेखि विपक्षी दलहरु समेत लागेको र राष्ट्रलाई निकास दिन ध्यान नदिएको नेता पौडेलको भनाई छ । उनले चुनाव भयो भने म चुनाव जित्न सक्छु भन्ने आत्मविश्वास राजनीतिक दलका नेताहरुमा नरहेको भन्दै संवैधानिक निकायको स्वतन्त्रता, तटस्थतालाई नेताहरुले आफू अनूकल बनाउने कुरा लोकतन्त्रका लागि घातक भएको दावी गरे ।
नेता पौडेलले न्यायालयलाई पारदर्शी र निष्पक्ष बनाउँन प्रश्न गर्नुपर्ने अवस्था आएको बताउँदै जनताको हक र अधिकारलाई सुनिश्चित गर्न हाम्रो व्यवस्था सक्षम हुनुपर्नेमा जोड दिए ।






















