Opens in a new tab

समाज

मर्स्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : प्रजिअ

रासस
२०८३ अशोज १२ | मध्यान्ह १२:०६ बजे

लमजुङ । वर्षाका कारण मर्स्याङ्दी नदी बढेको पानीको सतह घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । पछिल्ला दिन नदीमा पानीको बहाव उच्च भए पनि अहिले क्रमशः कम हुँदै गएको उनले जानकारी दिए ।

“अहिले पानीको सतह घट्दै गइरहेको छ । केही दिनअघि असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै बहाव देखिएको थियो, अहिले फेरि सामान्यतर्फ फर्किरहेको अवस्था छ,” उनले भने, “तत्काल जोखिम छैन । सुरक्षित तरिकाले बस्न सकिने अवस्था छ ।”

मनाङको चामे क्षेत्रमा पहिरो खसेर घट्टेखोलामा थुनिन सक्ने र त्यसबाट सम्भावित बाढीको जोखिम देखिएपछि मर्स्याङ्दी नदी आसपासका तटीय क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो । हाल लमजुङ खण्डमा भने नदीको पानीको सतह घट्दै गएको जनाइएको छ ।

यद्यपि, आइतबार (असोज ११) भएको वर्षाका कारण बाढी आउँदा जिल्लाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ । बेँसीसहर नगरपालिका–११ र उदीपुर क्षेत्रको बीचमा मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा समेत क्षति पुगेको छ । उक्त पुल हुँदै दोर्दी गाउँपालिकाको केन्द्र तथा बेँसीसहर–११ लगायत क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी खनालले आफू प्राविधिकसहित आज पुल तथा बाढीबाट क्षति पुगेका अरू स्थानको निरीक्षणमा जाने जानकारी दिए । निरीक्षणपछि आवश्यकताअनुसार पुलको मर्मतसम्भारको काम अघि बढाइने उनले बताए ।

जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी
नदीमा पानीको बहाव बढेपछि मर्स्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजना पनि प्रभावित भएका थिए । जोखिम बढेपछि आइतबार ७० मेगावाटको मध्य–मर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी पानी पूर्ण रूपमा बाहिर छाडेका थिए । हाल पानीको सतह घट्दै गएकाले दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

निरन्तर वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्नुका साथै लेदो, बालुवा तथा गेग्य्रानको मात्रा बढेपछि आयोजनाहरूमा जोखिम बढेको थियो । त्यसैलाई ध्यानमा राख्दै सुरक्षाका निम्ति विद्युत् उत्पादन रोकेर पानी बाहिर छाडिएको थियो ।

कमेन्टहरु