Opens in a new tab

समाज

बाढीले बगाएको गैँडा सुस्तामा भेटियो

नवलपुर टुडे
२०८३ अशोज १२ | मध्यान्ह १२:०६ बजे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ । अन्दाजी पाँच वर्षको गैँडा सुस्ता गाउँपालिका–४ मा सोमबार बिहान देखिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बगेर सुस्ता पुगेको सूचना पाएलगत्तै गैँडाको निगरानीको काम थालिएको बताए । उनले भने, “गैँडाको रेकी भइरहेको छ । उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ ।” गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुंगामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने हुन्छ । सुस्ता नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा पर्दछ । त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

नारायणी नदीमा शनिबार र आइतबार बाढी आउँदा नदीतटीय क्षेत्रबाट गैँडा बगाएको जनाइएको छ । नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्‍याएको हुन सक्ने अनुमान छ । यसअघि वि.सं. २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए । निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत सह–सचिव डा. रामचन्द्र कडेँलका अनुसार, तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ गैँडा उद्धार गरी ल्याइएको थियो ।

भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरूसँगको पुरानो चिनजानका कारणले गैँडा ल्याउने काममा भारतका तर्फबाट सहजीकरण भएको उनले बताए । यस वर्षको बाढी ठूलो भएकाले भारतसम्म गैँडा पुगेको हुन सक्ने आकलन गरिएको छ ।

यस वर्ष शनिबार र आइतबारको बाढीमा राप्ती नदीको मेघौली, खैरहनी लगायतका क्षेत्रमा बगेका गैँडा आफैँ उत्रिएको निकुञ्जले जनाएको छ । एउटा मृगलाई भरतपुर महानगरपालिका–१७, शिसुवारबाट उद्धार गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।

कमेन्टहरु