देश

कांग्रेस महाधिवेशन : गुल्मीमा मतपत्र विवाद बल्झिँदै, पुनः मतदान गर्न देउवा पक्षको माग

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०१:०८ बजे

गुल्मी । गुल्मीमा नेपाली कांग्रेसको देउवा पक्षले पुनः मतदानको माग गरेको छ। कांग्रेस गुल्मीको आठौं अधिवेशनमा शनिबार अवेरदेखि मतदान रोकिएको छ।

मतपत्रमा संकेत फेला परेपछि आइतबार पत्रकार सम्मेलनमार्फत सभापतिका उम्मेदवार (देउवा पक्ष) वेद बहादुर थापा र उनको प्यानलका उम्मेदवारले सवै मतदान पुनः गर्नुपर्ने माग राखेका हुन । थापाले नेपाली कांग्रेसको विधानविपरित नाम र क्रम संख्या उल्लेख गरिएका मतपत्र मतदान केन्द्रमा भेटिएपछि सम्पूर्ण निर्वाचनको प्रक्रिया स्थगित गरेर अर्को निर्वाचनको मिति तोक्न माग गरे। ‘लोकतान्त्रिक पार्टीमा कार्यकर्ता र मतपत्र कव्जा गर्न खोज्नु दुर्भाग्य हो।

पार्टी सचिवालय र निर्वतमान कार्यसमितिकै मिलेमोतोमा मतपत्र दुरुपयोग भयो,’ थापाले भने, ‘छापामार शैलीमा मतदान हुन दिँदैनौ।’ मतदानको क्रममा मुसिकोट मतदान केन्द्रमा संकेतसहितको मतपत्र भेटिएपछि मतदान रोकिएको थियो । निर्वाचन समितिले आइतबार बिहान ९ बजेबाट पुनःमतदान गर्ने जनाएको थियो। तर, सभापतिको उम्मेदवारलाई जानकारी नदिई पुनः मतदानको समय तोकिएको देउवा पक्षका उम्मेदवारको आरोप छ। सोहि पक्षकै सचिव पदका उम्मेदवार पृथबहादुर फौजदारले खिलध्वज पन्थी प्यानलले मतदाता प्रभावित पार्न फोटोसहितको प्रचार सामग्री वितरण गरेको, मतपत्रमा नभएको क्रम संख्या राखिएको, अर्धकट्टीमा नाम र क्रम संख्या राखिएको तथा सुनियोजित रुपमा निर्वाचन प्रक्रियाबाट आफूहरुलाई बाहिर राखिएकाले पुनः मतदानको माग गरिएको बताए।

सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी र देउवा पक्षका वेदबहादुर थापामगरको उम्मेदवारी रहेको छ। उपाध्यक्षमा शिव केसी, अनन्तराम पौडेल र झविन्द्र विश्वकर्माले उमेदवारी दिएको निर्वाचन सहायक अधिवक्ता भिम न्यौपानेले जानकारी दिए। पौडेल पक्षका एक नेताले परिणाम स्विकार गर्न नसकेर पुनः मतदानको बखेडा झिकिएको प्रतिक्रिया दिए।

उनले मतपत्रमा केहि समस्या देखिएको बताउँदै भागेर भन्दा बसेर समस्या समाधान खोग्न आग्रह गरेका छन्। ‘निर्वाचनमा गएपछि परिणाम स्विकार गर्नुपर्छ। मतदाता घर पुगे, मत परिणाम आउने बेलासम्म रमिता छ,’ उनले भने, ‘मतदानमा बिलम्ब भनेर कांग्रेस समाचार बनिरहनेछ।’ दुई पक्षबिच विवाद बल्झिँदै गएपछि प्रशासनले सुरक्षा व्यावस्था कडा बनाएको छ।

 

कमेन्टहरु