महिला टी-२० विश्वकप – युएईले नेपाललाई दियो १२८ रनको लक्ष्य

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत निर्णायक खेलमा चामानी सेनेभिरत्नको अर्धशतकको सहयोगमा यूएईले नेपाललाई १२८ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनायो । युएईका लागि चामानी सेनेभिरत्नले सर्वाधिक ५२ रन बनाइन् । यस्तै थिर्था सतिशले ४७ र काभिस एगोडेजले २२ रन जोडे ।
नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता मगर र संगीता राईले १-१ विकेट लिए । एसिया छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्न नेपालले युएई विरुद्ध १० बल बाँकी छँदै लक्ष्य पूरा गर्नुपर्नेछ ।
युएई ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । नेपाल समान खेलबाट ६ अंकसहित दोस्रोमा छ ।






















