सुदूरपश्चिमका बालबालिका अनलाइन यौन दुर्व्यवहारमा फसेको भन्दै अबिभाबक चिन्ता


धनगढी । बालबालिकाहरूलाई अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षित राख्न नीति निर्माण गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।
बिहीबार धनगढीमा समाज सेवा र मानव अधिकारमा महिला सशक्तिकरण संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बालबालिकाहरू अनलाइन यौन दुर्व्यवहारमा फसेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। पछिल्लो समय महिला, बालबालिका र युवाहरू अनलाइन यौन दुर्व्यवहार फस्दै आएका छन्।
कोरोना महामारीले गर्दा विद्यालय पूर्णरूपमा बन्द भएपछि युवायुवती र बालबालिकाहरू झनै अनलाइन यौन दुव्र्यवहारमा परेको सरोकारवालाहरू बताउँछन्।
अनलाइन कक्षा पढ्नका लागि बालबालिकाहरूलाई अभिभावकहरूले मोबाइल लगायतका बस्तुहरू खरिद गरेका थिए।
बालबालिकाहरूले अहिले ती साधनहरूको प्रयोग भन्दा बढी दुरुपयोग गरिरहेका छन्। बालबालिकाहरूलाई कसरी अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षित राख्न सकिन्छ भन्ने सवाललाई लिएर सुदूरपश्चिम र प्रदेश नम्बर ३ मा काम गरिरहेको समाज सेवा र मानव अधिकारमा महिला सशक्तिकरण संस्थाकी अध्यक्ष भावना ऐरले जानकारी दिइन्।
कोभिड–१९ पछि यो असर बालबालिकामा बढी परेको र पर्नसक्ने हुँदा सबैले सचेत रहनुपर्ने उनले बताइन्। प्रदेश सरकारले नीतिगत रूपमै लागू गर्नुपर्ने कुरामा उनले जोड दिइन्। पछिल्लो समय बालबालिकाहरू मोबाइलमै समय व्यतित गर्दै आएको कञ्चनपुरको पुर्नवास नगरपालिकाका मेयर जीवन राज थापाले बताए।
मोबाइल हातमा नभएर बालबालिकाहरू खाना समेत नखाने गरेको उनको भनाई छ। अनलाइन माध्यम प्रयोग गर्दा केही राम्रा पक्ष भए पनि कतिपयले अनलाइनको दुरुपयोग गरिरहेको उनले बताए । बालबालिकाहरू सामाजिक सञ्जाल समेत प्रयोग गर्ने भएका कारण त्यहाँ अनेक समाग्रीहरु हेर्ने र शेयर समेत गर्ने गरेका छन्। साथै गुगल वा अन्य माध्यमबाट अश्लील भिडिओहरू हेर्ने र साथीहरूलाई पठाउने लगायतका कामहरूमा समेत बालबालिकाहरू सक्रिय देखिएका छन्।
नेट इन्टर नेटले धेरै कुरा सिकाए पनि सही तरिकाले प्रयोग गर्न नसक्दा विकृति बढेको प्रदेश सरकारकी सामाजिक विकास राज्य मन्त्री मना कुमारी साउँदले बताइन्। बालिका बलात्कार, बेचबिखन, बाल विवाह र हिंसाका घटना बढ्नुको मुख्य कारण अनलाइन समेत भएको उनले बताइन् । कोरोना सङ्क्रमणको अवधिमा बालबालिकाहरू विद्यालय जान नपाउँदा अनलाइन मै व्यस्त भएका थिए । जस कारण अहिले उनीहरूमा अनलाइनको लत बसिसकेको छ ।
लागुऔषध सेवन कर्तालाई समात्ने हो भने जेलमा राख्ने समेत ठाउँ नपुग्ने अवस्था छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काका अनुसार प्रदेश सरकारले बालबालिका सम्बन्धी ऐन समेत निर्माण गरेको छ। बालबालिकालाई अनलाइन यौन दुव्र्यवहारबाट सुरक्षित राख्न सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । अनलाइनले गर्दा बालबालिकाहरूमा नराम्रो प्रभाव परेको आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले बताए। अनलाइनबाट हुने विभिन्न किसिमका दुव्र्यवहारलाई कम गर्न एप्सहरु निर्माण गर्न आवश्यक छ।
अभिभावक पनि यस सवालमा सचेत हुनु पर्ने उनले बताए । यो समस्यालाई समाधान गर्न विभिन्न कार्यक्रम बनाएर कार्यान्वयन गर्न प्रदेश प्रमुख देवराज जोशीले अनुरोध गरेका छन्। समयमै यो सवालमा आवश्यक कानुन र कार्यक्रम बनाएर तीन वटै सरकारले कार्यान्वयन गर्न उनले निर्देशन दिए।






















