नारायणी पुलमा राइनो क्रुज बगेर अड्कियो, पुल उच्च जोखिम


नवलपुर, असोज ११ । नारायणी नदीले किनारमा राखिएको राइनो क्रुज बगाएको छ । बगाएको क्रुज नारायणीको पुलमा अड्किएको छ । नेपालकै पहिलो र ठुलो क्रुज बगेर पुलको पिलरमा अड्किएपछि पुलको सुरक्षामा गम्भीर चुनौती थपिएको नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो ।
क्रुजलाई तान्न सक्ने सम्भावना नरहेकाले क्रेनको सहायताले फुटाएर बगाउन सकिन्छ कि भनेर छलफल चलिरहेको सहायक प्रजिअ रानाले बताउनुभयो । त्यसका लागि सडक डिभिजन कार्यालयसँग कुराकानी भइरहेको उहाँको भनाइ छ । तर रात परिसकेको र नारायणीको बहाव कम नभएकाले चुनौती झनै थपिएको रानाले बताउनुभयो ।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि क्रुज सञ्चालनमा आएको थियो । नवलपुर र यहाँको पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित ५० करोड लागतमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्तरूपमा नारायणी नदीमा राइनो क्रुज सञ्चालनमा ल्याएका थिए ।
गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा समेत नबगेको क्रुज अहिलेको नारायणीले बगाएपछि पुलको पिलर भाँचिने जोखिम बढेको इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज, प्रहरी निरीक्षण लक्ष्मण गिरीले बताउनुभयो । साढे दुई तले क्रुजको लम्बाई ९५ फिट र चौडाई २१ फिट रहेको रिभर क्राउन प्रालिका प्रवन्ध निर्देशक दीपक ढुंगेलले बताउनुभयो । क्रुजको पूरा क्षमता दुई सय जनासम्म भएपनि एक सय ५० जनालाई सुविधा उपलब्ध गराउने गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ थियो ।






















