Opens in a new tab

घटना

मनाङको हिमलुङ पहिरोमा बेपत्ता दुईको शव भेटियो, बाँकीको खोजी जारी

नवलपुर टुडे
२०८३ अशोज ११ | मध्यान्ह ०७:०६ बजे

पोखरा ।  मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा बेपत्ता भएका १० जनामध्ये २ जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार उद्धार टोलीले हेलिकप्टरमा २ जनाको शव चामे ल्याइपुर्‍याएका हुन्।

प्रजिअ खनालका अनुसार आइतबार थपको खोजी तथा उद्धार सम्भव छैन। अब भोलिमात्र उद्धार कार्य हुने उनले जानकारी दिए। हिमपहिरोदेखि ठाडो खोलामा एकैपटक बाढी आएको र मनाङमा बिजुली तथा नेटकर्वका कारण समस्या सिर्जना भएको उनले बताए।

हिमलुङ हिमालतर्फ गएका अन्य १० जना पनि सम्पर्कमा आएको र उनीहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी आएको पनि प्रजिअ खनालले बताए। मनाङको चामेमा ठाडो खोलाबाट झरेको लेदोले मर्स्याङ्दी नदीमा ताल बने पनि आत्तिनुपर्ने अवस्था अहिलेसम्म नदेखिएको पनि मनाङ प्रशासनले जानकारी दिएको छ।

लगातारको वर्षापछि चामेका खोलामा आएको बाढीले २ वटा  काठेपुल र २ वटा कजवे बगाएको छ। चामेका ५ वटा घर पूर्ण रुपमा क्षति भएका छन्। ताल गाउँमा करिब १० घर डुबानमा परेको तथा नासों गाउँपालिकामा मर्स्याङ्दी झोलुंगे पुल बगाएको पनि प्रशासनले जानकारी दिएको छ।

कमेन्टहरु