कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह : माधव नेपाल


सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताउनुभएको छ।
समाजवादी प्रेस संगठन सुर्खेतद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको बताउनुभयो।
तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी सङ्गठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने भन्दै उहाँले भन्नुभयो, “अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ।” एमालेले भोलिदेखि चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अतिथि वक्ताका रूपमा बोलाएन, तपाईंको सन्देश के छ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “नजाने बाटोका बारेमा नसोधेकै राम्रो।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताउनुभयो।
नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव डा वेदुराम भुसाल, प्रमेश हमालसहित नेता सुर्खेत आइपुग्नुभएको हो। रासस






















