देश

झापा लागूऔषध तस्करीको ट्रान्जिट बन्दै

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०६:०८ बजे

दमक । पछिल्लो समय झापा जिल्ला लागूऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागूऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो ।

जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागूऔषधको त्यस्तो अवस्था बाहिर आएको हो । सरकारको ऐन तथा नीतिलाई लत्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागूऔषध बिक्री वितरण भइरहेको बताइएको छ ।

सरकारले तोकेका मापदण्डविपरीत औषधि व्यवसायीले खुलेआम लागुपदार्थ बिक्री वितरण गरिरहेका कारण पनि समस्या बन्दैगएको पाइएको छ । लागूऔषधको दुरुपयोगको समस्या दिनानुदिन बढिरहेकाले झापा प्रहरी आक्रमक शैलीमा लागूऔषध कारोबारी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ ।

लागूऔषध ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्वव्यापी समस्याका रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार झापामा पनि जटिल बन्दै गएको प्रहरी अधिकारीको दाबी छ । लागूऔषध प्रयोग गरेका कारण पनि जिल्लाको शान्ति सुरक्षामा समेत नकारात्मक असर परिरहेको प्रहरीले जनाएको छ ।

बाहिरी देशमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा पनि नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वी काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज भारतीय नाकाबाट बढीजसो लागूऔषध जिल्लामा भित्रिने गरेको छ । त्यो नाकाहुँदै कारोवारीले जिल्लाको सहरी क्षेत्र धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, दमकलगायतका क्षेत्रमा पु¥याउने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार खुला सीमाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणाममा लागूऔषध ओसारपसार हुने गरेको छ । भारतबाट ब्राउन सुगर, हेरोइन, कोकिनलगायत लागूऔषध नेपाल आउने गरेको पाइएको छ ।

नेपालबाट गाँजा, चरेस र अफिम ठूलो परिणाममा भारततर्फ तस्करी हुनेगर्छ । सङ्गठित रुपमा हुने लागूऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आए पनि सफल हुनसकेको छैन । तस्कर समूहले विभिन्न उपाय लगाएर लागूऔषधको कारोबार गरिरहेको र त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालित भइरहेको उहाँको भनाइ छ ।

झापा जिल्लामा गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालू आर्थिक वर्ष २०७७/७८ को मङ्सिरसम्म लागुऔषधका मुद्दा ६५ दशमलव ७ प्रतिशतले वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ देखि २०७८ मङ्सिरसम्म ७९० लागूऔषध कारोबारी पक्राउ परेका छन् । गत आर्थिक वर्षमा लागूऔषधसम्बन्धी कसुरमा प्रहरीले १८२ जनालाई पक्राउ गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा लागूऔषध सम्बन्धीका ११८ मुद्दा दर्ता भएका थिए । तर चालू आर्थिक वर्षको यो अवधिमा लागूऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १४ देखि ४० वर्ष उमेरसम्मका छन् । उनीहरूले शरीरका विभिन्न भागमा लागुऔषध लुकाएर ल्याएका थिए ।

पक्राउ पर्नेहरूमध्ये अधिकांशले आफू भरिया भएको बताउँछन् । लागूऔषध सीमा कटाएबापत रु एक हजारदेखि १० हजारसम्म ज्याला पाउने उनीहरू बताउँछन् ।

कमेन्टहरु